काठमाडौं । कक्षा ३ मा अध्ययनरत वर्ष ८ की आकृति पाण्डेद्वारा लिखित बाल कथासङ्ग्रह “The Sprouting Stories” सार्वजनिक भएको छ ।
शुक्रबार कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक लोकार्पण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डेले बाल कथासङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।
अङ्ग्रेजी माध्यमबाट लेखिएको कथासंग्रहमा ११ वटा कथाहरु समोवश गरिएको छ । पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै मन्त्री पाण्डेले यति कलिलो उमेरमा यो स्तरको कथा लेख्नु आफैमा विशिष्ट क्षमता रहेको धारणा राख्दै लेखिकालाई प्रोत्साहन गर्नुभयो ।
त्यसैगरी शुभकामना दिने क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा।धनेश्वर नेपालले मानिसले जस्तो वातावरण प्राप्त गर्छ त्यस्तै आकार ग्रहण गर्दछ र बालप्रतिभा आकृति पाण्डे एक विशिष्ट प्रतिभा रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी जय नेपाल फाउन्डेशनका अध्यक्ष बद्री अर्यालले आकृतिमा अलौकिक प्रतिभा देख्न सकिन्छ र भोलिको दिनमा विशिष्ट साहित्यकार बन्न सक्ने गुण भएको र यही क्रममा अगाडि बढ्न हौसला प्रदान गर्नुभयो ।
पुस्तकको समिक्षा गर्दै लेखक तथा वरिष्ठ उद्घोषण प्रशिक्षक शङ्कर कुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउनुका साथै पात्रहरूलाई उचित न्याय दिएको बताउनुभयो । विभिन्न रसहरूको समेत प्रयोग गरी कलात्मक तवरले कथा लेख्ने साहस गर्ने लेखिकाको कामले आफुलाई प्रभावित बनाएको बताउनुभयो ।
संस्कार पब्लिकेसनले प्रकाशन गरेको उक्त पुस्तक चित्रसहित रंगीन छपाइमा आएको छ । जसको मुल्य रु. २२५ रहेको छ भने यसको लेआउट डिजाइन एस.के.डि. ग्राफिक एण्ड प्रिन्टिङ सोलुसनले गरेको हो ।
कार्यक्रमको पुरा भिडियो