• २०८१ असोज ४ गते शुक्रवार

डालस, २७ जुलाई २०२४ । 

नेपाल जर्नीले डालसद्वारा टेक्सासमा आयोजित विशेष कार्यक्रममा अपाङ्गमैत्री पुस्तकालय, चितवन परियोजनाको प्रगति रिपोर्ट, वित्तीय रिपोर्ट र आगामी योजनाबारे जानकारी गराएको छ । कार्यक्रममा नेपाल जर्नीका चार्टर प्रेसिडेन्ट मौसमी श्रेष्ठले नेपाल जर्नीले विगत ८ वर्षमा १४ परियोजनाह सफलतापूर्वक सम्पन्न गरेको बताइन् । जसअन्तर्गत भूकम्प राहत, बाढीपीडित राहत र विभिन्न पुस्तकालय परियोजना सम्पन्न गरेको सो कार्यक्रममा श्रेष्ठले जानकारी गराइन् ।

नेपाल जर्नी अपाङ्गमैत्री पुस्तकालय चितवन परियोजनाका लागि भरतपुर महानगरपालिकाले सवा दुई कठ्ठा जग्गा उपलब्ध गराएको श्रेष्ठले जानकारी दिइन् । ‘२०१७ मा हामीले नेपाल जर्नीको भिजन प्रोजेक्टका लागि कोष संकलन सुरु गरेका थियौं, श्रेष्ठले भनिन्, ‘हाम्रो प्राथमिकता काठमाडौं थियो, तर जग्गा प्राप्त गर्न नसकेपछि अन्य महानगरहरूमा प्रयास गर्‍यौं, अन्ततः २०२० मा भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गर्‍यो ।’ यस प्रोजेक्टलाई सुरु गर्न आर्थिक, मानवस्रोत र स्थानीयको सहयोगलाई आवश्यकतामा राखी नेपाल जर्नी यूएसए, नेपाल जर्नी नेपाल र ५ सदस्यीय पुस्तकालय परियोजना टोलीले संयुक्त रूपमा चितवनको लङ्कुमा यो प्रोजेक्ट निर्माण गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी गराइन् । यो परियोजनाको कुल क्षेत्रफल ७,२९५ स्क्वायर फिट रहेको यो सार्वजनिक पुस्तकालयको स्थिरता सुनिश्चित गर्न निर्माण सम्पन्न भएपछि संयुक्त रूपमा भरतपुर नगरपालिका, स्थानीय बासिन्दा र वडालाई हस्तान्तरण गर्ने श्रेष्ठले जानकारी गराइन् ।

यो कार्यक्रम फन्डरेजिङका लागि नभई चितवन पुस्तकालय परियोजनाको प्रगति अपडेट र वित्तीय रिपोर्ट प्रस्तुत गर्ने रहेको कार्यक्रम सञ्चालन गर्दै नेपाल जर्नीका जनरल सेक्रेटरी विकास भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार नेपाल जर्नीले २०१५ मा अमेरिकामा स्थापना गरेर नेपालमा पुस्तकालय र स्वास्थ्यसम्बन्धी परियोजनाहरू सञ्चालन गर्दै आएको र हालको अपाङ्गमैत्री पुस्तकालय परियोजना चितवन महानगरपालिकामा निर्माण भइरहेको छ।

नेपाल जर्नीका बोर्ड अफ डाइरेक्टर र इन्जिनियरिङ तथा कन्स्ट्रक्सन कोर्डिनेटर राजीव श्रेष्ठले निर्माण योजना र प्रगति रिपोर्ट प्रस्तुत गर्दै पुस्तकालय निर्माण कार्य लगभग ४०% सम्पन्न भएको जानकारी दिए । पुस्तकालयको कुल भवन क्षेत्रफल ७,२९५ वर्गफुट रहेको जानकारी दिँदै उनले ग्राउन्ड फ्लोरमा स्वागत कक्ष, प्रतीक्षालय, ७५ जनाका लागि पढ़्ने स्थान, १२ जनाका लागि कम्प्युटर स्टेसन, ८ जनाका लागि ओपन जनरल स्पेस, १० जनाका लागि प्रशिक्षण हल, बच्चाहरूको खण्ड, अडियो, भिडियो सेक्सन, ब्रेल सेक्सन, दुईवटा महिला शौचालय, दुईवटा पुरुष शौचालय, एउटा अपाङ्गमैत्री शौचालय र दुईवटा युरिनल, कार्यालय कक्ष, सर्वर कक्ष र गिफ्ट स्टेसन रहेको जानकारी दिए । फर्स्ट फ्लोरमा १०० जनाका लागि सम्मेलन/मेडिटेसन कक्ष, १७ जनाका लागि बैठक कक्ष र क्याफेटेरिया/कोफी लाउन्ज र शौचालय निर्माण भइरहेको श्रेष्ठले जानकारी दिए । पुस्तकालयलाई अपाङ्गमैत्री बनाउनका लागि व्हिलचेयर र्याम्प र लिफ्ट पनि समावेश गरिएको श्रेष्ठले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल जर्नीका कोषाध्यक्ष उमा अर्यालले नेपाल जर्नीको चालु आर्थिक स्थिति र आजसम्मको वित्तीय अपडेट गर्दै भवन निर्माणको कुल लागत ३ करोड २१ लाख ९९ हजार ४ सय ५ रुपैयाँ २ पैसा रहेको र हालसम्म बिल्डरलाई ९० लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिइन् । अर्यालका अनुसार आजको मितिमा नेपाल जर्नीको अमेरिकामा रहेको खातामा ६९ हजार ३ सय ८३ दशमलव ६६ अमेरिकी डलर रहेको छ । चितवन पुस्तकालय परियोजनाका लागि अमेरिकामा विभिन्न वर्षमा संकलित कोषको विवरणअनुसार: २०१७ मा २७ हजार ४० दशमलव ६७ अमेरिकी डलर, २०१८ मा १८ हजार १ सय ९८ दशमलव ८६ अमेरिकी डलर, २०१९ मा २३ हजार ७ सय ५२ दशमलव ४७ अमेरिकी डलर, २०२० मा शून्य, २०२१ मा ८ हजार ९ सय ६० अमेरिकी डलर, २०२२ मा शून्य, २०२३ मा १६ हजार अमेरिकी डरल र २०२४ मा ३० हजार ३१ अमेरिकी डलर गरी आजसम्म अमेरिकाबाट यस परियोजनाका लागि १ लाख २३ हजार ९ सय ८३ अमेरिकी डलर संकलन भएको कोषाध्यक्ष अर्यालले जानकारी गराइन् ।

कोषाध्यक्ष अर्यालका अनुसार २०२१ मा Cat UK ले १० लाख रुपैयाँ नेपाल जर्नीको नेपालस्थित खातामा हस्तान्तरण गरेको छ भने नाटिग्नटम समाज युकेले एक लाख रुपैयाँ जम्मा गरेको छ । यस परियोजनाका लागि भरतपुर महानगरपालिकाले २५ लाख रुपैयाँको प्रतिबद्धता जनाएको र नेपाल जर्नी नेपाल टिमबाट पनि यस परियोजनाका लागि कोष संकलन अभियान जारी रहेको अर्यालले जानकारी दिइन् । 

कार्यक्रममा प्रोफेसर प्रभात दीक्षितले नेपाल जर्नीको चितवन पुस्तकालयलाई अमेरिकाका विश्वविद्यालयहरूसँग कसरी जोड्न सकिन्छ भन्ने बारेमा विस्तृत जानकारी दिएका थिए । दीक्षितले विश्वविद्यालयहरूबीचको सहकार्यले परियोजनाको प्रभावकारिता र स्रोतहरूको सदुपयोगमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने कुराका बारेमा प्रस्ट पारेका थिए । 

नेपाल जर्नी चितवन पुस्तकालय परियोजनाका ग्लोबल फाइनान्स कोर्डिनेटर भानु खरेलले डोनेसन संकलन र भावी योजनाका बारेमा प्रस्ट पारेका थिए । कार्यक्रममा सिटी अफ य‍ुलेसका प्रो-मेयर टिका पौडेल, स्थानीय नेपाली समुदायका सदस्यहरू र विभिन्न स्थानीय संगठनहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल जर्नी टिमबाट भाइस प्रेसिडेन्ट तथा प्रोजेक्ट कोर्डिनेटर बद्री श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर समिता श्रेष्ठ, पब्लिसिटी कोर्डिनेटर धनन्जय ढकाल र दीनानाथ न्यौपाने, Pro-bono Advisor रोहिन श्रेष्ठको सहभागिता रहेको थियो भने स्थानीय संस्थाहरुको तर्फबाट राजेन्द्र वाग्ले, ज्ञानेन्द्र कार्की, बासु भण्डारी, विकास उप्रेती, दिपेन्द्र गुरागाईं, छवि चापागाईंलगायतले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *