काठमाडौँ । प्रकृतिपूजक किरात जातिले बिहिबार उभौली पर्व हर्षोल्लासका साथ मनाएका छन् । किराती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व उभौली र उधौली गरि दुई पटक मनाइन्छ । वैशाख पूर्णिमाका अवसरमा किरात सुनुवार, राई, लिम्बूले ढोलझ्याम्टाका साथ ष्याँदर र साकेला नाच्दै उभौली पर्व मनाउने गर्दछन् ।
किरातको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किरातहरुले उभौली भन्दछन भने बाली तयार भएपछि बाली घर भित्राईने यामलाई उधौली भन्ने गरिन्छ । यी दुवै याममा किरात समुदायले प्रकृतिको पूजाआजा गरी यो पर्व मनाउने गर्दछन् । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा ष्याँदर साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनेर पनि भनिन्छ ।
उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुख शान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किरात राईहरूको बसोबास रहेको प्रदेश नम्बर १ अन्तर्गतका पूर्वी पहाडी जिल्लाका ओखलढुंगा, धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा बागमती प्रदेशका रामेछाप, सिन्धुली, दोलखा राजधानी काठमाडौँ आदि सहरमा रहेका सुनुवार र राई समुदायले यो पर्व धुमधामका साथ मनाउने गर्छन् ।