नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

अन्तरिक्षमा नयाँ इतिहास: आर्टेमिस-२ को सफल उडान

1.42K
shares

अप्रिल १, अमेरिका । नासा (NASA) ले आफ्नो ऐतिहासिक अन्तरिक्ष यान आर्टेमिस -२ (Artemis II) चन्द्रमातर्फको उडान सफलतापूर्वक सुरु गरेको छ । अप्रिल १, २०२६ बेलुका ६:३५ बजे (EDT) अमेरिकाको फ्लोरिडा सहरमा अवस्थित केनेडी स्पेस सेन्टरबाट भएको हो । आर्टेमिस-२ उडानमा ४ जना अन्तरिक्षयात्री रहेका छन् । जसमा कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर र मिसन विशेषज्ञ क्रिस्टिना कोच र जेरेमी ह्यान्सेन सहभागी छन् ।

आर्टेमिस-२ अन्तरिक्ष यानले सुरुमा पृथ्वीको परिक्रमा गर्दै आफ्ना सम्पूर्ण प्रणालीको परीक्षण गर्नेछ र त्यसपछि चन्द्रमातर्फको यात्रा तय गर्नेछ । यो यान चन्द्रमामा अवतरण नगरी त्यसको पछाडिको भागबाट फन्को मार्दै अङ्ग्रेजी अङ्क ‘8’ को आकार बनाएर पृथ्वीतर्फ फर्किनेछ । करिब १० दिनको यस ऐतिहासिक परीक्षण यात्रापछि ४ जना अन्तरिक्ष यात्रीसहितको यो यान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गर्नेछ। यदि, सबै कुरा योजना अनुरूप भयो भने यो अन्तरिक्ष यान र त्यसमा सवार व्यक्तिले अपोलो-१३ ले राखेको २ लाख ४८ हजार ६ सय ५५ माइल (अर्थात ४ लाख १ सय ७१ किलोमिटर) को अघिल्लो कीर्तिमानलाई तोड्ने अपेक्षा गरिएको छ । जससँगै उनीहरू पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढा पुग्ने मानव बन्ने छन्।

आर्टेमिस कार्यक्रम: विगतदेखि भविष्यसम्मका उडान

अमेरिकी अन्तरिक्ष संस्था नासा (NASA) को आर्टेमिस (Artemis) कार्यक्रम मानिसलाई ५० वर्षपछि पुनः चन्द्रमामा फर्काउने र भविष्यमा मंगल ग्रहको यात्रा तय गर्ने एक अत्यन्तै महत्त्वाकांक्षी र ऐतिहासिक अन्तरिक्ष अभियान हो ।

आर्टेमिस कार्यक्रमको इतिहास र सुरुवात:

आर्टेमिसको औपचारिक स्थापना सन् २०१७ मा भएको हो । यस कार्यक्रमका लागि आवश्यक ‘स्पेस लन्च सिस्टम’ (SLS) रकेट र ‘ओरियन’ (Orion) अन्तरिक्ष यानको निर्माण वर्षौंदेखि चलिरहेको भए पनि, सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्पेस पोलिसी डाइरेक्टिभ-१’ जारी गरेपछि यसले आधिकारिक रूप पाएको थियो । यस नीतिले नासालाई आफ्नो प्रमुख लक्ष्य चन्द्रमामा मानव पुर्याउने कार्यलाई केन्द्रित गर्न निर्देशन दियो । चन्द्रमामा पहिलो महिला र पहिलो अश्वेत व्यक्ति पुर्‍याउने लक्ष्यसहित यस कार्यक्रमको आधिकारिक नाम ‘आर्टेमिस’ राखिएको हो ।

आर्टेमिस-१:

आर्टेमिस कार्यक्रमको पहिलो उडान ‘आर्टेमिस-१’ १६ नोभेम्बर २०२२ मा प्रक्षेपण गरिएको थियो । यो एउटा मानवरहित परीक्षण उडान थियो । जसले चन्द्रमाको परिक्रमा गरी २५ दिनपछि प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण गर्दै रकेट र यानको सुरक्षा क्षमता प्रमाणित गरेको थियो ।

आर्टेमिस-२:

१ अप्रिल २०२६ मा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट ४ जना अन्तरिक्ष यात्रीसहित ‘आर्टेमिस-२’ को सफल प्रक्षेपण भएको छ । यो मिसनबमोजिम सो यानले चन्द्रमामा अवतरण नगरी त्यसको पछाडिको भागबाट फन्को मारेर १० दिनपछि पृथ्वीमा फर्कने छ ।

नासाले चन्द्रमाको दक्षिणी ध्रुव (Lunar South Pole) लाई आफ्नो प्रमुख गन्तव्य बनाएको छ । जहाँ जमेको पानी (Water ice) रहेको विश्वास गरिन्छ । आगामी वर्षहरूका लागि नासाको कार्यतालिका यस प्रकार रहेको छ:

आर्टेमिस-३ (सन् २०२७ को मध्यतिर लक्षित):

सुरुमा यसै मिसनमार्फत मानिस चन्द्रमामा ओर्लिने भनिए पनि सन् २०२६ मा योजना परिमार्जन गरियो । परिमार्जित योजनाबमोजिम यस मिसनमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको तल्लो कक्षमा (Low Earth Orbit) व्यावसायिक कम्पनीहरूले बनाएका लुनार ल्यान्डरहरू (जस्तै स्पेस-एक्सको स्टारसिप वा ब्लू ओरिजिनको ब्लू मुन) सँग ओरियन यानको परीक्षण र नयाँ स्पेससुटको जाँच गर्नेछन्।

आर्टेमिस-४ (सन् २०२८ को सुरुतिर लक्षित):

सन् १९७२ को अपोलो-१७ मिसनपछि मानिसले फेरि चन्द्रमाको सतहमा पाइला टेक्ने यो नै पहिलो ऐतिहासिक मिसन हुनेछ। यस मिसनमार्फत अन्तरिक्ष यात्रीहरू लुनार ल्यान्डरको प्रयोग गरी चन्द्रमामा ओर्लिने छन् र त्यहाँ वैज्ञानिक अनुसन्धान गर्नेछन्।

आर्टेमिस-५ (सन् २०२८ को अन्त्यतिर लक्षित):

यस मिसनले थप अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पुर्‍याउने छ। यही मिसनबाट नासाले चन्द्रमामा मानिस लामो समय बस्न मिल्ने ‘आर्टेमिस बेस क्याम्प’ (Artemis Base Camp) भनिने स्थायी आधार शिविर निर्माणको काम सुरु गर्ने योजना बनाएको छ।

⁠अन्तिम लक्ष्य:

मंगल ग्रहको यात्रा (Mission to Mars): आर्टेमिस कार्यक्रमको अन्तिम गन्तव्य चन्द्रमा मात्र होइन। चन्द्रमालाई नासाले एक “परीक्षण भूमि” (Proving Ground) को रूपमा प्रयोग गर्दैछ। चन्द्रमाको कठिन वातावरणमा जीवन रक्षा प्रणाली, नयाँ बासस्थान, रोभर र अन्य प्रविधिहरूको परीक्षण गरेपछि, ती अनुभव र ज्ञानलाई प्रयोग गरेर भविष्यमा मानवलाई मंगल ग्रह (Mars) मा पठाउने नासाको दीर्घकालीन लक्ष्य रहेको छ।आर्टेमिस कार्यक्रमले पृथ्वीबाट चन्द्रमासम्मको बाटो निर्माण गर्दैछ, ताकि भोलिका दिनमा मानव जातिले मंगल ग्रह र त्यसभन्दा परको ब्रह्माण्डको यात्रा सुरक्षित रूपमा गर्न सकोस् ।

स्रोतः नासा/एजेन्सी