सेयर बजार १९.७० अंकले बढ्यो
२०८२ चैत १७ मंगलवार १६:१५
shares

काठमाडौं । बालेन सरकार गठनभएछि मंगलबार पहिलो पटक सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.७० अंकले बढ्दै २८५१ अंकमा उक्लिएको छ । यसअघि लगातार दुई कारोबार दिनमा ११९ अंकले घटेको बजार आज पुनः उकालो लागेको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । सोमबार १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ११ अर्ब ११ करोड रुपैयाँमा सीमित रह्यो । बजारमा १९५ कम्पनीका सेयर मूल्य बढ्दा ६३ कम्पनी घटेका छन् भने ९ कम्पनी स्थिर रहेका छन्।
समूहगत सूचकतर्फ अधिकांश क्षेत्र हरियालीमा देखिएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.९४ प्रतिशतले उकालो लागेको छ । त्यसैगरी बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह पनि बढेका छन् । यद्यपि ‘अन्य’ समूहमा भने ०.५५ प्रतिशतको गिरावट आएको छ ।
आज ६ कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनका लगानीकर्ताले उच्च नाफा कमाएका छन् ।
विपरीततर्फ सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी ८.९६ प्रतिशतले घटेको छ। साथै रिडी पावर र धौलागिरि लघुवित्तको मूल्य पनि क्रमशः ३.२१ र २.८० प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक अग्रस्थानमा रहेका छन् ।





















