लेखक लक्ष्मण अधिकारीले दिएको ठेगानालाई पहिल्याउँदै म त्रिपुरेश्वर पुगेको थिएँ । त्यहाँ पुग्दा वरिष्ठ मनोचिकित्सक डा. निराकार मान श्रेष्ठको क्लिनिकमा कयौं बिरामी उनलाई पालो कुरेर बसिरहेका थिए । उनले जाँचिहेको कोठा आकारका हिसाबले सानो थियो । उनले उपचार गर्नुपर्ने बिरामीहरू धेरै थिए । बिरामीहरूको समयलाई मध्यनजर गर्दै म पुस्तक लिएर हिँडिहालँे । यो दृश्य अवस्य पनि नेपालको स्वास्थ व्यवस्थाको तस्वीर झैँ लाग्थ्यो । मानसिक समस्या र त्यसको उपचारसँग जोडिएको मनोदशा डा. श्रेष्ठको क्लिनिक वरिपरि घटित भएझैँ लाग्थ्यो । थाकेका र डराएका र भयग्रस्त मानिसहरू देख्दा मलाई अन्तोक चखेवको कथा वडा नम्बर छ’को याद आइरहेको थियो । स्वस्थ्य र चिकित्साशास्त्रलाई नजिकबाट बुझेका चखेवले उक्त कथामा मानसिक स्वास्थ्यको जटिलता भोगिरहेको पात्रको जीवन्त चरीत्र प्रस्तुत गरेका छन् । यो कथा मलाई सधैँ नुतन लाग्छ ।
डा. निराकार मान श्रेष्ठलाई स्वास्थ्य कर्मचारीबाट पहिलो पटक स्वास्थ्य सचिव भएको व्यक्तिको रूपमा नाम सुन्दै आएको थिएँ । मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख श्रेष्ठ पुराना मनोचिकित्सक हुन् । हजारौँ बिरामीहरूको उपचार गरिसकेका उनी हाल पनि सक्रिय चिकित्सक हुन् । मानसिक समस्या भएका सयौँ बिरामीहरू उनलाई दैनिक भेटिरहेका हुन्छन् । उनको पछिल्लो पुस्तक हो “मनोस्वास्थ तथा मनोरोग” । २३० पेजभन्दा माथिको पुस्तकमा मानसिक समस्या सम्बन्धि विभिन्न बिषयलाई समेटिएको छ । जस्तै जनरलाइज्ड एङ्जाईटिक डिसअर्डर, फोविक डिसअर्डर, अवसेसिभ कम्पल्सिभ डिसअर्डर, प्यानिक डिसअर्डर, होस्टोरिया, उदासी, वाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया, छारे रोग, माइग्रेन, सुस्तमनस्थिती, अल्जाईमर्स, लागू औषध र लागू पदार्थ दुव्र्यसनसँग सम्बन्धि मानसिक समस्याहरूको छोटकरीमा चर्चा गरिएको छ । ‘अस्पतालमा तथा क्लिनिकमा जचाँउन आउने मानसिक रोगीहरूमध्ये झण्डै ८०–९० प्रतिशतले पहिले नै धामीझाँक्रीको उपचार गरेको, पुजा–पाठ गरेको, भाकल गरेको र कतिपयले भाले, बोकाको भोग पनि दिएको पाइन्छ । यो सबै गर्दा पनि केही सीप नलागेपछि शारीरिक रोग सम्बन्धि चिकित्सकहरूसँग उपचार गराएर लाखौँ खर्च गर्दा पनि ठिक नभएपछि आखिरमा केही सीप नलागी वा अन्य यस्तै बिरामीले मानसिक रोग विशेषज्ञसँग जचाउँदा ठिक भएको भन्ने सुनी अन्तिममा मानसिक रोग विशेषज्ञसँग उपचार गराउन आइपुग्छन् । (मनोस्वास्थ्य तथा मनोरोग, डा. निराकार मान श्रेष्ठ, भुमिका, पृष्ठ v)

वरिष्ठ मनोचिकित्सक डा. निराकार मान श्रेष्ठले आफ्नो पुस्तक मनोस्वास्थ्य तथा मनोरोगको भूमिकामा उल्लेख्य गरेको यस तथ्यले नेपाली समाजमा मनोरोगलाई हेर्ने हाम्रा सामाजिक र सांस्कृतिक चेतलाई उजागर गर्छ । जुन देशका युवाहरू मानसिक रूपमा दर्बिलो हुन सक्दैनन् त्यो देशले राजनीति, अर्थतन्त्र र समग्र समाजको गतिशीलता यथास्थितिमा अडिन्छ । यसैले विश्व स्वास्थ संगठनले मानसिक स्वास्थ्यलाई निकै महत्त्वको विषयका रूपमा प्राथमिकतामा राखेको छ । स्वस्थ हुनु भनेको शारीरिक रूपमा तन्दुरुस्त हुनु मात्र होइन मानसिक रूपमा सबल हुनु पनि हो । त्यहाँमाथि मानसिक समस्याले पनि शारीरिक स्वास्थ्यलाई गम्भीर असर गरेकै हुन्छ । डा. निराकार मान श्रेष्ठले यस पुस्तकमा मानसिक स्वस्थ्यका आयामहरूलाई समेटेका छन् । मानसिक रोगका अनेकौँ प्रकार हुन्छन् । रोगका लक्षणका आधारमा रोग पहिचान गरी उपचार गर्नुपर्ने हुन्छ । सबै मानसिक रोगलाई होलसेलमा डिप्रेसन करार गर्नेहरू समाजका जान्ने सुन्नेहरू नै छन् । उनीहरूले यो पुस्तक पढे भने एकखालको जानकारी अवस्य प्राप्त गर्नेछन् ।
उनी एक ठाउँमा लेख्छन् – ‘कसैले त मानसिक रोगको औषधि खाँदा मृगौला बिगार्ने, कलेजो आदि बिगार्ने भनेको कुरा सत्य हो भनी सोध्छन् । यो पनि गलत कुरा हो । कुनै पनि औषधि बजारमा बिक्रीमा आउनु अघि थुप्रै जीवजन्तु तथा स्वयंसेवक मानवहरूमा परिक्षण गरी त्यसले कुनै प्रकारको ठुलो हानी नोक्सानी शरीरलाई गर्दैन भनी बजारमा बेच्न पाइने भनिएको छ । (मनोस्वास्थ्य तथा मनोरोग, डाक्टर निराकार मान श्रेष्ठ, भूमिका, पृष्ठ १२७) निराकार मान श्रेष्ठले पुस्तकमा लेखे जस्तै मानसिक समस्या भएकाहरूले आफ्नो समस्या बाहिर नल्याउने, डाक्टरले मानसिक रोगको पहिचान गरी दिएको औषधि नखाने पनि गर्छन् । एकखालका मानिसहरू नेपालमा मानसिक रोगको प्रभावकारी उपचार हुँदैनसमेत भनिरहेका हुन्छन् । कतिपयले यहाँका मनोचिकित्सकहरूलाई विश्वास नै गर्दैनन् । विदेशमा गएरसमेत उपचार गरिरहेका हुन्छन् । आम सर्वसाधारणको पनि सहज पहुँचमा मनोचिकित्सकहरू छैनन् । सरकारले गाउँ गाउँमा मनोचिकित्सक र परामर्शदाता पठाएको त छ, त्यो त्यति प्रभावकारी हुन सकेको छैन ।
श्रेष्ठले भेटमा भनेका थिए नेपालमा मानसिक समस्यालाई निदान गर्न सक्ने थुप्रै चिकित्सक हुनुहुन्छ । जनसंख्याको अनुपातमा चिकित्सकहरू थोरै छन् । तर उत्कृष्ट चिकित्सक नेपालमै छन् । उनले पुस्तकलाई रोचक बनाउन उपचार गर्न आएका बिरामीहरूको मनोदशालाई प्रस्तुत गरेका छन् । यस पुस्तकको पेज नम्बर ४३ मा श्रेष्ठले रोचक प्रसङ्ग ल्याएका छन् । उनले यसलाई केश नम्बर ५ नाम दिएका छन् । त्यहाँ भनिएको छ – ‘बाग्लुङको करिब ५० वर्षको एउटा धनी मानिस उपचारका लागि आएको थियो । उसको मनमा कुनै मानिसको विचार आएपछि उसको पुरा नाम सम्झनुपर्ने हुन्थ्यो । त्यो नसम्झेसम्म उसलाई वेचैनी हुने र सुत्न नसक्ने हुन्थ्यो । यो नामको के मतलब, यो वाहियात हो, मैले यो हटाउन पर्छ भन्दा पनि जबर्जस्ती बारम्बार त्यही समस्याले सताउने भएको थियो । को–को मान्छेको नाम थर पुरा जान्नुपर्ने र उसले अरूसँग सोध्दा कति पटक त अरूलाई शंका लाग्ने कामसमेत भएको थियो । यस्तो भएको एक वर्षपछि विदेशमा भएको छोराको सल्लाहअनुसार मेरो क्लिनिकमा ३/४ वर्ष अघि उपचारको लागि आएको थियो । (मनोस्वास्थ्य तथा मनोरोग, डाक्टर निराकार मान श्रेष्ठ, भूमिका, पृष्ठ ४३) उसलाई नाम सम्बन्धि विचार आउनु र त्यो थाहा नपाइ नहुने समस्या यअम नै हो । यसलाई मानसिक स्वास्थ्यको भाषामा ocd with obscessive thought भनिदोरहेछ । राम्रो मनोचिकित्सक र मनोपरामर्शदाताले यस्ता समस्यालाई पूर्ण रूपमा निदान गर्न सक्छन् । यस्ता उदाहरण अरू पनि छन् । जसको कारण पुस्तक रोचक भएको छ ।

श्रेष्ठले पुस्तकमा उल्लेख गरेअनुसार मनोरोगलाई चिकित्साले मात्र निको पार्ने होइन । मनोपरामर्श, सामाजिक, राजनीतिक र आर्थिक परिवेश पनि बनाउनु पर्छ । तर हाम्रो जस्तो देशमा त्यो सम्भावना कम छ । उनले पुस्तकमा मनोरोग क्षेत्रका अनेकौँ जटिलतालाई उल्लेख गरेका छन् । श्रेष्ठकाअनुसार मानसिक रोगलाई सामाजिक कलङ्कको रूपमा हेर्ने गरिन्छ । देविदेउताको श्रापले यो रोग लाग्छ भने धारणा समाजमा प्रवल छ । अन्धविश्वासलाई मान्यता दिने काम भएको छ । औषधिको अभाव छ । मानसिक रोगका बिरामीहरू नजानेर अरू विषयका चिकित्सकसँग जचाउन जान्छन् । फार्मेसी दोकानदारहरूले नियम विपरित औषधि बेचिरहेका छन् । उपचार सम्बन्धि सल्लाह बिरामीले मानिरहेका हुँदैनन् । भौगोलिक विकटता र आर्थिक समस्याका कारण मनोरोगीहरूले पीडित हुनु परेको छ । मानसिक रोग र औषधि सम्बन्धि गलत धारणा बनेको छ । जनशक्तिको अभाव छ । सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न सकेको छैन । मनोचिकित्सकहरूले प्रभावकारी तालिम पाएका छैनन् । मानसिक स्वस्थ्य सम्बन्धि सचेतना र शिक्षाको अभाव छ । जसको कारण नेपाल जस्तो देशमा मनोचिकित्सा क्षेत्रलाई बिस्तार गर्दै प्रभावकारी बनाउन सकिएको छैन ।
गाउँ गाउँमा मानसिक रोगका बिरामीहरू बढिरहेका छन् । सक्षम जनशक्तिको अभावमा निको हुने रोगसमेत पालेर बस्न बाध्य छन् बिरामीहरू । यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्ने जरुरी छ । थुप्रै कुराहरू पुस्तकमा समावेश गरिएको छ । मानसिक रोगी, मानसिक रोगीका आफन्त, मनोसामाजिक विषयमा रुचि राख्नेहरूका जोसुकैलाई यो पुस्तक प्रभावकारी र जानकारीमुलक छ । पुस्तकको भाषा अलि प्राविधिक तवरको पनि छ ।
अङ्ग्रेजी शब्दको अत्याधिक प्रयोग भएको छ । कतिपय ठाउँमा जटिल वाक्य पनि छन् । कतिपय शब्दलाई नेपालीकरण गर्न सकिन्थ्यो । कतिपय वाक्य सरल बनाउन सकिन्थ्यो । यसतर्फ अर्को संस्करणमा डाक्टरसापको ध्यान जाओस् ।
– रसुवाली कवि
