• २०८१ कार्तिक १६ गते शुक्रवार

–विदुरप्रसाद पौडेल
रामेछाप, हाल काठमाडौँ ।

पौराणिक पात्रहरू; विशेषगरी; नारीहरूमा आधारित भएर शोभाकर बरालद्वारा लेखिएको पुस्तक “पौराणिक आदर्श नारीहरू” लेखकको दोस्रो कृति हो । यस अघि लेखकको “मैले टेकेको धरती” (२०७९) प्रकाशित भई बजारमा आइसकेको छ । उक्त पुस्तक मैले पनि पढ्ने शौभाग्य पाएको थिएँ । त्यसमा लेखकले आफ्नो जीवनका भोगाइका यथार्थताहरूलाई प्रस्तुत गरी समाजलाई सुसूचित गराएका छन् ।

यसै सिलसिलामा लेखकको दोस्रो कृतिका रूपमा “पौराणिक आदर्श नारीहरू” (२०८१) बजारमा आएको छ । यसमा पौराणिक कालका आदर्श नारीहरूको चरित्र, उनीहरूले निभाएको भूमिका र विशेषगरी नारीको पतिव्रता धर्मको शक्तिका बारेमा विभिन्न नारीहरूको दृष्तान्त दिएर आजको समाजलाई पौराणिक कथामार्फत सुसुचित गराउने प्रयास लेखकले गरेको देखिन्छ । समाजमा सत्चरित्र, असल चालचलन, अनुशासनको खडेरी परेको अवस्थामा आफ्नो शक्ति, सामथ्र्य हुँदाहुँदै पनि तत्कालिन समाज, परिस्थितिअनुकूल आफूलाई समालेर कत्ति पनि विचलित नभई घमण्ड, अहम्ता आदिलाई त्याग गरी समाजमा असल छाप छोड्न सफल पौराणिक नारीहरूको कथाले पक्कै पनि आधुनिक समाजलाई असल र गलत छुट्याएर सही बाटोमा डो¥याउन यो पुस्तक महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

आफ्नो जीवनकालको लामो समय ३७ वर्ष कास्की जिल्लाको स्थानीय श्री लक्ष्मी आधारभूत विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रही आफूलाई एक असल शिक्षकका रूपमा चिनाउन सफल भएका लेखक बरालले आधुनिक समाजमा हराउँदै गएको आदर्शलाई पौराणिक पात्रहरूको चरित्रचित्रण गर्दै यस पुस्तकमार्फत समाजलाई सुसूचित गराउने प्रयास गरेका छन् ।

प्रस्तुत “पौराणिक आदर्श नारीहरू” पौराणिक आख्यानमा आधारित पुस्तक हो । यस पुस्ताकमा पौराणिक कालका अनुसूया, उर्मिला, गान्धारी, दमयन्ती मन्दोदरी, शकुन्तला, सावित्री, सीता र सुलोचना गरी ९ जना आदर्श नारीहरूका बारेमा वर्णन गरिएको छ ।

आफ्ना पतिको आज्ञा शिरोपर गर्ने क्रममा जताजतै खडेरी परी पानीको हाहाकार भएको अवस्थामा पतिले जल (पानी) मागेको तर दिन असमर्थ जस्तै भएको समयमा आफ्नो तपोबलले जल उत्पन्न गरी पतिको जल पिउने इच्छालाई पूरा गर्ने सफल नारीका रूपमा चिनिन्छिन् अत्रि ऋषिकी पत्नी अनुसूया । साथै, उनको पतिव्रता धर्मको परीक्षा लिन स्वयम् भगवान् ब्रह्मा, विष्णु र महेश्वर अनुसूयामाझ प्रस्तुत भई “जबसम्म तपार्इँ सर्वाङ्ग नाङ्गो भएर हामीलाई खानेकुरा दिनुहुन्न तबसम्म हामीहरू त्यसलाई स्वीकार गर्दैनौं” भनी भन्दा पतिव्रता अनुसूयाले दृढ सोंचका साथ विचार गरी पत्नी (स्त्री) कि त आफ्नो पतिका सामु नाङ्गी हुन्छिन् कि त आफ्नो शिशुका अगाडि नाङ्गी हुन्छिन्, अन्य परपुरुषका अगाडि पतिव्रता नारी कसरी नाङ्गिन सक्छिन् भनी हातमा जल लिई आफ्नो तपोबलले त्रिदेवहरूलाई तीनै जना नवजात शिशुमा परिणत गराई आफ्नो परिव्रता धर्मको रक्षा गरेकाले अनुसूया पृथ्वीमा मात्र होइन, स्वर्गलोक, ब्रह्मलोक तथा कैलाश र बैकुण्ठ लोकमा समेत महान् आदर्श नारीका रूपमा चिनिने पात्र हुन् ।

यसैगरी, राजा जनककी छोरी सीताकी बहिनी हुन् उर्मिला । मिथिला दरबारमा हुर्के बढेकी उर्मिला मर्यादा पुरुषोत्तम भगवान् श्री रामका भाइ लक्ष्मणकी पत्नी हुन् । दाजु रामचन्द्र १४ वर्ष वनबास जानुपर्दा भाइ लक्ष्मण पनि दाजुसँगै वनबास गएका थिए । यसरी पति लक्ष्मण १४ वर्षसम्म वनबासमा जाँदा आफ्नो पतिव्रता धर्मको पालना गरी अयोध्याको दरबारभित्र एक भक्तिनी र बह्मचारिणीको जीवन बिताइ आफ्ना पति साथमा नभए तापनि तीन/तीन जना सासु र ससुराको हेरविचारमा तल्लीन रही आफूलाई कर्तव्य परायण नारीका रूपमा चिनाउन सफल भएकी थिइन् उर्मिला ।

त्यसैगरी अर्की नारी पात्र हुन् गान्धारी । गान्धाराज सुबलकी छोरी गान्धारी रूप र गुण दुवैमा चर्चित थिइन । उनको विवाह हस्तिनापुरका जन्मजात आँखा नदेख्ने धृतराष्ट्रसँग भएको थियो । यिनका सय भाइ छोरा र एक छोरी थिए । यिनले महाभारतको युद्वमा झगडा नगर्न छोरा दुर्योधनलाई बारम्बार सम्झाइन् । राज्य सञ्चालनका विषयमा कौरव र पाण्डवबिच युद्ध हुँदा यिनका सय भाइ छोराहरूको मृत्यु भएको थियो । यस्तो दुःखत शोकको घडीमा पनि कत्ति पनि विचलित नभई आफ्ना आँखा नदेख्ने पतिको सेवामा तल्लिन रही आजीवन आँखामा पट्पट बाँधी पति भक्तिमा दृढ रहिन् । युद्वमा सय भाइ छोराहरू गुमाउँदाको पीडामा पनि कत्ति विचलित नभई पतिव्रता धर्ममा अडिग महाभारतकी नारी पात्र गान्धारीबाट शोकको घडीमा पनि आफूलाई समाल्न सक्ने नारीका रूपमा उनको चरित्र वर्तमान समयमा पनि सान्दर्भिक देखिन्छ ।

यस पुस्तकमा उल्लेख भएका अन्य नारी प्रात्रहरूमा दमयन्ती, मन्दोदरी, शकुन्तला, सावित्री, सीता र सुलोचना हुन् । विदर्भ देशका राजा भीमकी छोरी दमयन्तीको विवाह राजा नलसँग भएको थियो । भाइ पुस्करसँग जुवामा सबै राज्य र श्रीसम्पत्ति हारेपछि राजा नल वनबास जानुपर्ने भयो । यसरी जुवामा राज्य र श्रीसम्पत्ति हारेपछि दमयन्ती राजा नलसँगै वनबास जान तयार भइन् र सँगै वनबास गइन् । आफ्ना पतिलाई परेको विपत्तिमा साथ दिई पति भक्तिको नमुना बन्ने पात्रको रूपमा दमयन्तीलाई लिन सकिन्छ । रामायणमा उल्लिखित रावण जस्तो बलवान, पराक्रमी शक्तिशाली पति र देवराज इन्द्रलाई समेत पराजित गर्न सक्ने छोरा इन्द्रजीत (मेघनाथ) की आमा मन्दोदरी पतिव्रता धर्मको महत्त्व बुझेकी नारी थिइन् । शक्तिशाली तर घमण्डी रावणसँग विवाह भए तापनि आफ्नो विवेक, शालिनता, पतिव्रता धर्म तथा साँचो र सत्य कुरालाई कहिल्यै पनि नत्याग्ने नारीका रूपमा मन्दोदरीलाई लिन सकिन्छ ।

यस पुस्तकमा उल्लिखित अर्की नारी पात्र हुन् शकुन्तला । यिनी ऋषि विश्वामित्र र स्वर्गकी अप्सरा मेनकाकी छोरी थिइन् । राजा दुष्यन्तसँग गन्धर्व विवाह गरेकी शकुन्ताला पछि दुष्यन्त राजाले पत्नीको रूपमा भित्र्याउन लोकलाजका कारणले इन्कार गर्दा पनि बढो शालिनता र धैर्यतापूर्वक आफ्ना कुराहरू राखी कत्ति पनि विचलित नभई राजाको दरबारमा भित्रिन सफल भएकी थिइन् ।

पुस्तकमा उल्लेख भएकी अर्को नारी पात्र हुन् सावित्री । उनले अल्पायुको उमेर छ भनेर थाहा पाउँदा पाउँदै पनि सत्यवान्सँग विवाह गरिन् । अल्पायु मै मृत्युवरण गरेका पति सत्यवान्लाई यमलोकका राजा यमराजलाई खुशी तुल्याई वरदानमार्फत मृत्यु भइसकेका पतिलाई यमलोकबाट जीवितै फिर्ता ल्याउन सफल र साहासिक नारी पात्र हुन् सावित्री ।

“पौराणिक आदर्श नारीहरू” पुस्तककी अर्को आदर्श नारी हुन् जनक नन्दिनी सीत । सीता भगवान् रामकी धर्मपत्नी थिइन् र आपैmँ पनि लक्ष्मीकी रूप थिइन् । सानो उमेरमै शिवधनु उचाली सीता प्रख्यात भएकी थिइन् । देवी लक्ष्मी स्वरूप नारी पात्र थिइन् सीता । राम १४ वर्ष वनबासमा जाँदा पतिसँगै वनबास गएकी सीतालाई वनबासका समयमा रावणले हरेर लैजादा रामलाई नै पति परमेश्वर मानी उनकै प्रतिक्षा गरेर पतिव्रता धर्मको रक्षामा तल्लिन रहिन् । पछि युद्वमा रावणलाई हराई रामले सीतालाई साथमा लिएर वनबासबाट अयोध्या फर्केका थिए । लङ्काबाट फर्कनुपूर्व लक्ष्मी स्वरूप सीतालाई पतिव्रता धर्मको परीक्षा समेत दिनु प¥यो । यस्तो अवस्थामा पनि देवी सीताले यसलाई सहर्ष स्वीकार गरेकी थिइन् ।

यस पुस्तकमा उल्लेख भएकी अन्तिम नारी पात्र हुन् सुलोचना । यिनी लङ्काका शक्तिशाली राजा रावणकी बुहारी तथा इन्द्रलाई समेत जिती नामै इन्द्रजीत रहन गएका मेघनाथकी पत्नी थिइन् । यिनले पनि आफ्ना पतिको मृत्यु भएपछि ससुरा रावणलाई भगवान् रामसँग युद्व नगर्न आग्रह गर्दै पति मेघनाथसँगै सती गएकी थिइन् ।

लेखक बरालले पुराण, पौराणिक महाकाव्य आदिमा वर्णित प्रमुख नौ नारी पात्रलाई आधार मानी यो पुस्तक तयार गरेको देखिन्छ । यी सबै नारी पात्रहरू एउटै ग्रन्थमा भेटिदैँनन्, विभिन्न पौराणिक ग्रन्थबाट लिइएका नारी पात्रहरू हुन् । समुदायमा दृष्टान्त दिँदा नाम लिइने यी नारी पात्रहरूको वास्तविक कथा धेरैलाई थाहा नहुन सक्छ । खोज्दा पनि धेरै ग्रन्थहरू पल्टाउनुपर्ने हुन्छ । महाभारत, रामायण र अन्य पौराणिक ग्रन्थमा उल्लिखित पात्ररूको एउटै पुस्तकमा चरित्र चित्रण गरी पाठक समक्ष पु¥याइदिएकामा लेखक बराललाई जति धन्यवाद दिँदा पनि कमै हुन्छ । यस पुस्तकमा उल्लिखित नारी पात्रहरूको चरित्र पुराना र नयाँ पुस्ताका पाठकसामु साङ्गोपाङ्गो परिचय दिएकामा लेखकलाई धन्यवाद दिनुपर्छ । यो पुस्तक पढेपछि यसमा उल्लिखित पात्रका बारेमा थप कुरा खोज्न अन्त जानु पर्दैन ।

नेपाली साहित्यमा पौराणिक पात्रका आधारमा थुप्रै कृति सिर्जना भएका छन् । आदिकवि भानुभक्तको ‘रामायण’ संस्कृत भाषाको ‘अध्यात्म रामायण’ को अनुवाद हो । संस्कृतका महाकवि कालिदासको ‘अभिज्ञानशाकुंलतम्’ नाटक श्रीमद्भागवत पुराण र महाभारतमा वर्णित दुष्यन्त र शकुन्तलाको कथामा आधारित छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ महाकाव्य पनि यसै कथामा आधारित छ । कृष्ण धरावासीको ‘राधा’, सिद्धिचरणको ‘उर्वशी’, जगदीशशम्शेर राणाको ‘नृसिंह अवतार’, लेखनाथ पौड्यालको ‘भर्तृहरिनिर्वेद’, नीलम कार्की निहारिकाको ‘चीरहरण’, नवराज लम्सालको ‘कर्ण’ जस्ता कृति पनि पौराणिक कथाका पात्र र घटनालाई आधार बनाएर सिर्जना गरिएका हुन् ।

यस पुस्तकमा लेखकले उल्लेख गरिएका नारी पात्रहरू नेपाली साहित्यमा विभिन्न बिम्ब, प्रतीक र दृष्तान्तका रूपमा आएको पाइन्छ । पाठकहरूमा यस्ता पात्रहरूको चरित्रका बारेमा जानकारी नहुँदा अलमलमा पर्ने गरेको पाइन्छ । लेखक बरालले यस्ता पात्रहरूका चरित्रचित्रण गरी पुस्तक नै तयार गरिदिएर नेपाली पाठकहरूलाई गुन लगाएका छन् ।

यो पुस्तक लेखक बरालको मौलिक कृति चाहिँ होइन । यो कृतिलाई उपजीब्य कृति चाहिँ भन्न सकिन्छ । लेखकले प्रत्येक नारी पात्रको लेखन समाप्तिपछि स्रोत सामग्री उल्लेख गरेर आफ्नो लेखनको वैधता पुष्टि गरेका छन् । अर्कातिर, वर्तमान समयमा सान्दर्भिकताको प्रश्न उठाउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै स्रोत सामग्रीलाई आधार मानेको प्रमाण पनि पेस गरेका छन् । आखिर मिथिक्सहरू कुन साहित्यमा प्रयोग भएका छैनन् र ! पूर्व र पाश्चात्य साहित्यमाा मिथिक्सको प्रयोग भरपूर रूपमा भएको छ । यस्ता साहित्यहरू बुझ्नका लागि मिथिक्सहरू पनि बुझ्नु पर्ला नि !

नैतिकता, सत्चरित्र, पतिव्रता धर्मको पालना लगायतका गुणहरूको खडेरी परेको वर्तमान समयमा पौराणिक नारीहरूको चरित्र उनीहरूले पु¥याएको योगदान र समाजलाई सही बाटोमा डो¥याउन खेलेको भूमिकाका कारण “पौराणिक आदर्श नारीहरू” आधुनिक समाजका लागि मार्गदर्शक बन्न पुग्ने अपेक्षा गर्न सकिन्छ । अतः “पौराणिक आदर्श नारीहरू” पुस्तक बजारमा ल्याई पाठकवर्गलाई सुसूचित गरेकामा लेखक बराललाई धन्यवाद । आगामी दिनहरूमा थप अन्य कृतिहरू प्रकाशित गर्न प्रेरणा मिलोस् भन्दै यस कृतिको पुनः सफलताको कामना गर्दछु ।

कृतिः “पौराणिक आदर्श नारीहरू”
विधाः पौराणिक आख्यान
लेखकः शोभाकर बराल
प्रकाशकः लेखक स्वयम्
संस्करणः पहिलो (२०८१)
पृष्ठः १७९
मूल्यः रु.३५०/-

Leave a Reply

Your email address will not be published. Required fields are marked *