• २०८१ बैशाख २८ गते शुक्रवार

काठमाडौं: सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मुल्य बढाएको छ । शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मुल्य बढाएको हो ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रूपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ १७ पैसा, डिजेलमा २ रूपैयाँ ४८ पैसा र ग्यासमा १८६ रूपैयाँ ४५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको मुल्य तय गरिएको जनाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८१ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६९ रूपैयाँ पर्नेछ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८२ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १७० रूपैयाँ पर्नेछ ।

खाना पकाउने ग्यासको भाउ भने सबैतिर १ हजार ८९५ रूपैयाँ प्रतिसिलिन्डर पर्नेछ । आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।

साभार : अखबार नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *