• २०८१ जेष्ठ ३ गते बिहिवार

बुधबार १७, अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अमेरिकाको भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई टेक्सासको डालसमा एक कार्यक्रमका बीच स्वागत गरेको छ । अगस्ट १७ बिहीबार टेक्सासको डालसमा आयोजित स्वागत एवं अन्तरक्रियामा नेपाल सरकारका प्रधानमन्त्रीका पूर्वप्रेस सल्लाहकार एवं रातोपाटी डट कमका संस्थापक प्रधान सम्पादकसमेत रहनुभएका शर्माले नेपालीहरू भौतिक रुपमा जहाँ भए पनि मातृभूमिसँगको निकटता कायमै राख्न नेपाली समुदायसँग आग्रह गर्नुभएको थियो ।

स्वागत तथा अन्तरक्रियामा बोल्दै शर्माले नेपाल पत्रकार महासंघ र नेजाबीचको सम्बन्ध अमेरिकामा रहेका नेपाली समुदाय र नेपालबीच पुलको रुपमा रहेको उल्लेख गर्नुभयो । विभिन्न कारणले नेपाली समुदाय प्रवासमा रहे पनि आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपालीको हितमा उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै शर्माले प्रवासमा रहेका आवाजविहीनलाई आवाज दिने र नेपाली र नेपाल सरकारलाई उपयुक्त सूचना प्रवाह सहयोग गर्नुपर्ने बताउनुभयो । शर्माले भन्नुभयो, “अहिलेको प्रविधियुक्त समयमा विभिन्न पत्रपत्रिकामा समाचार मात्र नभएर उपयुक्त सूचनामूलक लेख सिर्जना गरेर प्रकाशन/प्रसारण गर्नु आवश्यक छ ।” 

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै शर्माले नेपालमा सरकारको तर्फबाट पछिल्लो समयमा केही सकारात्मक प्रयास सुरु भएको बताउँदै प्रवासबाट नेपालको राज्यव्यवस्थाप्रति निराशा फैैलाउने काम नगर्न आग्रह गर्नुभयो । शर्माले नेपाली पत्रकारिताको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै प्रवासमा नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारले सामुदायिक पत्रकारिताको माध्यमबाट प्रवासी नेपालीहरूलाई नेपालसँग जोड्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्यका क्रममा नेजाका अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था भएको र अमेरिकामा रहेका समुदायलाई नेजाको आवश्यकता रहेको बताउनुभयो । नेजाले अमेरिकामा रहेका नेपालीको पहिलो पुस्तालाई मात्र नभई भावी पुस्तालाई मध्यनजर गर्दै आफ्ना योजना अगाडि बढाउन लागेको बताउनुभयो । नेजा आफैंमा निर्णयकर्ता नभएको तर  समुदायलाई सबल र सक्षम बनाउनका लागि उनीहरूलाई आवश्यक सूचना प्रवाह गर्ने र विभिन्न संघ-संस्था एवं समाजलाई सही गन्तव्यमा लैजान हातेमालो गर्दै गलत प्रवृत्तिलाई सदैब खबरदारी गर्ने अध्यक्ष भण्डारीको जोड रहेको थियो ।

   

नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा बोल्दै नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले नेजा र महासंघबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको र नेपालमा पत्रकारलाई साह्रो-गाह्रो पर्दा नेजाले सहयोग गर्दै आएको बताउनुभयो । यस्तै नेजाले नेपाल पत्रकार महासंघबाट अमेरिका भ्रमणमा आउनुहुने पत्रकारहरूलाई स्वागत एवं अन्तरक्रिया गर्दै आएको बताउनुभयो ।

नेजाका मध्यक्षेत्रीय संयोजक शंकर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजा सदस्यहरू शैलेशराज आचार्य, तारा रावल, सागर अर्याल, सामाजिक अभियन्ताहरू देवी आचार्य, तिलक केसी, दिपक खरेल, नारायण कँडेललगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेजा पूर्वक्षेत्रीय संयोजक एवं रिपोर्टर्स क्लबका अध्यक्ष किसन रेग्मी, नेजा सदस्य एवं यूएस खबरका प्रधान सम्पादक ओम आचार्य, नेजा पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतमलगायत पत्रकारज्यूहरूको उपस्थिति रहेको थियो ।

यसैगरी, नेपाली समाज टेक्सासका वरिष्ठ उपाध्यक्ष विवेक कँडेल, सामाजिक अभियन्ताहरू टीबी पाठक, प्रकाश अधिकारी, प्रकाश दाहाल, ललित कार्की, बिमल पचाईलगायत डालस-फोर्टवर्थ क्षेत्रमा रहेका सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *