शिक्षालाई मानिसको तेस्रो आँखा भन्ने गरिन्छ । मानिसका साधारण आँखाले देख्न नसकिने कुरालाई शिक्षा हासिल गरेपछि देख्न सकिन्छ भन्ने अर्थमा यसो भनिएको हुनुपर्दछ । अर्थात् शिक्षाले मानिसको जीवनमार्ग देखाउने भएकाले तेस्रो आँखा भनिएको होला । विद्वान विवेकानन्दले मानिसमा भएका सम्पूर्णताको पहिचान नै शिक्षा हो भनेका छन् । अमेरिकी शिक्षाविद् जोन डिबेले शिक्षा जीवनको तयारी मात्र होइन जीवन नै हो भने । उल्लेखित व्यक्तिको भनाइबाट पनि शिक्षाको ठूलो महत्व रहेको बुभ्mन सकिन्छ ।
व्यक्ति, समाज र सिंगो मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक एवं वैचारिक विकासका लागि शिक्षाको ठूलो भूमिका हुन्छ । तर, हाम्रो देशको सन्दर्भमा उल्लेखित विषय विकासमा शिक्षाको स्थान कस्तो छ ? राज्यले अनुशरण गरेको शिक्षाले माथि उल्लेखित क्षेत्रको विकास भएको छ कि छैन ? शिक्षित नागरिक कस्ता छन् ? अभिभावकले आप्mना सन्ततिको पढाइलेखाइप्रति कस्तोे अनुभूति गरेका छन् ? घर परिवार, समाज र सिंगो राष्ट्रमा शिक्षित नागरिकको के कस्तो भूमिका छ भन्ने कुराको आधारमा राज्यले कस्तो शिक्षा दिई कस्ता नागरिक उत्पादन गरेको छ भन्ने कुरा पुष्टि हुन्छ ।
गाउँमा व्यावसायिक तरकारी खेती गरेर सामान्य जीवन बिताइरहेका चेतन काकाले पनि छोराछोरीलाई बजारको बोर्डिङ स्कुलमा पढाएका छन् । उनले चर्को शुल्क तिरेर पढाएका छोराछोरीले घर व्यवहारमा कम चासो दिएको गुनासो गरे । पढेलेखेका छोराछोरीमा अनुशासन, शिष्टता, घर व्यवहारका काम बर्ने बानीको विकास हुन सकेन । बुबाआमालाई काममा सघाउने, ठूलालाई इज्जत र सानालाई माया गर्ने जस्ता आत्मअनुशासनजन्य गुण निर्माण हुन सकेनन् । काकाले अहिलेको शिक्षा पद्धतिले व्यावहारिक पक्षलाई पठनपाठनमा समावेस नगरेकोमा निराशा व्यक्त गरे । हाम्रा शिक्षालयमा नैतिक शिक्षाको विषयवस्तुमा पढाइलेखाइ हुँदैन त ? उनले मतिर प्रश्न उठाए । काकाले गुनासो थपे, न त कृषि शिक्षाको विषय पढाइ हुन्छ । न त पशुपालनको । अहिलेको सिङ न पुच्छरको शिक्षाले पढाइले युवापुस्ताको भविष्य के होला ? देशको भविष्य कस्तो होला ?
सैनिक जीवनबाट अवकास प्राप्त विक्रम दाइले छोरा छोरीलाई पढाए, लेखाए । त्रिभुवन विश्वविद्यालयबाट ग्रेजुएट गराए । उनी भन्छन्, अहिले छोरा अस्टे«लियामा छन् । बुढेसकालमा जन्मिएकी छोरीले आधारभूत विद्यालयमा पढ्दै छिन् । हाम्रो शिक्षा महँगो भयो । छोराछोरीले पढ्न त पढे । के पढे के ? न त जागिर पाए । न त स्वरोगार बन्न सक्ने भए । पढेकालाई विदेश प्यारो भयो । स्वदेशमा बसेनन् । निराश हुुँदै उनले थपे, राज्यले देशलाई माया गर्ने, स्वदेशमा नै राजगारी पाउने नागरिक उत्पादन गर्न सकेनन् । पढेलेखेका युवा गाउँमा नबस्ने भए ।
जति पढेलेखे पनि गाउँमा छाउपडी, देउकी, घुम्टो प्रथा दाइजो प्रथा, महिला हिंसा, जातीय विभेदजस्ता समस्या व्याप्त छन्
काफलबोटे सन्दिप दाइले छोराछोरीको पढाइ लेखाइमा जीवनभरको कमाइ खर्च गरेको दुःखेसो गरे । संविधानले शिक्षालाई मौलिक अधिकार भनेको छ । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको छ । तर, व्यवहारमा शिक्षा महँगो छ । सर्वसाधारणको पहँुचमा छैन । विद्यालयदेखि उच्चशिक्षासम्म पढेर पनि स्वरोजगार बन्न सक्ने कुनै पनि ज्ञान एवं सीप भएन शिक्षामा । छोराछोरीले देशभित्र रोजगार पाएनन् । उनले निधार खुम्च्याउँदै थपे, ‘अहिले गाउँघर युवाविहीन भएका छन् ।’ राज्यले शिक्षा र रोजगारको सम्बन्धलाई जोड्न नसक्दा काफलबोटे सन्दिप दाइको जस्तो अनुभूति हरेक अभिभावकले गरेका छन् । सीपबिनाका जनशक्ति उत्पादन गरेर विदेश जान बाध्य बनाउने अभिभावक राज्य हो । पढेलेखेका स्वदेशमा नबसेपछि समृद्ध नेपाल सुखी नेपाली कसरी सम्भव हुन्छ ?
सामाजिक अन्यायका भागिरदार भीमसेन दर्जीको अनुभूतिले पनि समाजको चिन्तनलाई उजागर गर्दछ । उनी भन्छन्, ‘बल्लतल्ल प्लस टुसम्म पढाएपछि छोराले माथिल्लो जातकी कन्यासँग अन्तरजातीय प्रेम विवाह ग¥यो । शिक्षालयमा गुरुजनले जातीय विभेद गर्नुहँुदैन भन्ने पढाए होलान् । संविधानमा जातीय विभेद नभएको कुरा सुनेकै भरमा माथिल्लो जातकी कन्यासँग प्रेम विवाह गरेका छोरा बुहारीलाई समाजले रुचाएनन् । उनीहरू गाउँमा बस्न सकेनन् । धेरै भयो बेखबर छन् । हामीलाई समेत गाउँलेको डर छ ।’ भमिसेनको कथनभित्र देशको सामाजिक अवस्था र दलितको भोगाइ लुकेको छ ।
हाम्रो देशमा एकातिर देशमा साक्षरता प्रतिशत बढिरहेको छ भने अर्कोतिर हाम्रो शिक्षा प्रणालीले सामाजिक रूपान्तरण गर्न सकेको छैन । समाजमा असमानता, अन्याय, अत्याचार, शोषण, दमन तथा उत्पीडन व्याप्त छन् । दुरदराजका गाउँबस्तीहरूमा सामाजिक कुरीति तथा अन्धविश्वासले जरा गाडेका छन् । भूगोल, सम्प्रदाय तथा सामाजिक चेतनाका आधारमा समस्याका रूप र प्रकृति भने भिन्न छन् । छाउपडी, देवकी, घुम्टो प्रथा दाइजो प्रथा, महिला हिंसा, जातीय विभेद जस्ता समस्या व्याप्त छन् । यसरी हेर्दा शिक्षाले समाज रहेका कुरीतिमा सुधार ल्याउन प्रभावकारी काम गर्न नसकेको प्रमाणित हुन्छ ।
शिक्षाशास्त्री ओटावेले नवजात शिशु जन्मदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणत गर्ने काम घर, परिवार समुदाय, विद्यालयलगायतका निकायको हो भन्ने आशय व्यक्त गरेका छन् । यसको अर्थ मानिस जन्मदा उसले खाली दिमाग लिएर जन्मन्छ र उसको खाली मस्तिष्कमा जस्तो वातावरण र शिक्षादीक्षा दियो त्यसअनुरूपको ज्ञान आर्जन र व्यक्तित्व निर्माण हुन्छ भन्ने कुरा बुभ्mनुपर्दछ । भीमसेन दर्जीको परिवारले भोगेको सामाजिक अन्यायलगायत माथि उल्लेखित अन्य समस्याको जग समाजले सिकाइका चलनचल्ती हुन् । सामाजिक मूल्य र मान्यतामा संशोधन, परिमार्जन वा परिवर्तन गर्न नचाहाने समाजको मनोविज्ञान हो । यसरी हेर्दा हाम्रो शिक्षा पद्धतिमा तर्कमा आधारित वैज्ञानिक चिन्तनको अभाव देखिन्छ । समाजमा जरो गाडेर रहेका सामाजिक कुरीति एवं कुसंस्कारलाई वैज्ञानिकतर्कका आधारमा फेरबदल गर्ने चेतनाको विकास गर्न शिक्षाले प्रभावकारी भूमिका खेल्न नसकेको तथ्य हो ।
आधुनिक शिक्षाबाट बुबाआमालाई काममा सघाउने, ठूलालाई इज्जत र सानालाई माया गर्नेजस्ता आत्मानुशासनजन्य गुण निर्माण हुन सकेनन्
सामाज सुधारको अभियानमा लागेका छिरिङ शेर्पाले गाउँका स्कूलमा पढेका छोराछारीले यहाँ भएको प्राकृतिक स्रोत र साधनको उपयोग गरी आयआर्जन गर्नसक्ने ज्ञान एवं सीप आर्जन गर्न नसकेको बताउँछन् । उनको गुनासो छ, हिमाली क्षेत्रका शिक्षित जनशक्तिले यस क्षेत्रमा आधुनिक तरिकाले भेडा, च्यांग्रा तथा चौरी पालन, स्याउ खेती, यार्सागुम्बाको व्यवसायीकरणलगायतका क्षेत्रमा आयआर्जन गर्नसक्ने शिक्षा भएको भए पो उनीहरूले यही आयआर्जन गर्न सक्ने थिए । के गर्नु ? छोरा छोरीलाई पढायो, बढायो । यात सहरतिर हिँड्छन् । या त विदेशतिर हानिन्छन् ।
छिरिङ्ले छोराछोरीले घर छोड्न बाध्य भएको गनासो गर्दै गर्दा उनको अनुहारमा पीडाबोध प्रस्ट देखिन्थ्यो । छिरिङको कुराले मलाई बिथोल्यो । ओहो π सिंहदरबारमा बसेर शिक्षाका गफ चट्नेले छिरिङ शेर्पाको अनुभूतिका विषयलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गर्ने बुद्धि आउन सकेको भए शिक्षा र भौगोलिक विविधता एवं उत्पादनको सम्बन्ध जोडिने थियो । हिमाल, पहाड र तराईमा भएका प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन र उपयोग गर्नसक्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा कहिले अनुभव गर्न सकिएला ? शिक्षालाई प्रकृति, समाज, विज्ञान र व्यवहारसँग जोड्न सक्ने पाठ्यक्रमको निर्माण कहिले होला ? पाठ्यपुस्तक कहिले लेखिएलान् ?
जिम्मल बाले गाउँमा रहेका अब्बल खेतबारी बाँझिएकोमा ठूलो पश्चाताप भएको दुःखेसो पोखे । आधा दर्जन सन्तानका पिता जिम्मल बा अहिले डाँडामाथिको जूनको अवस्थामा पुग्दा पनि कोही सन्तान आपूmसँग नभएकोमा निराश छन् । उनी भन्छन्, ‘छोराहरूले गाउँ छाडे । कोही विदेश पसे । कोही बजार खाज्दै हिंडे । पढेलेखेकाले खेतीपाती, पशुपालन वा पुख्र्यौली पेसा कसैले अँगालेनन् ।’ तमाखुको गडगडाहटबाट ओंठ छुटाउँदै गर्दा मुख बाहिर निस्किएको धुँवा सेतो कपालबाट माथितिर गएको दृष्यमा जिम्मल बाको अनुहारमा देखिएको मनिलता अधिकांश अभिभावकमा देखिन्छ ।
शिक्षा र स्थानीय स्तरमा रहेका प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन एवं उपयोग गर्न सक्ने वैज्ञानिक, व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रणाली बनाओस् । शिक्षाले व्यक्ति, समाज र सिंगो मुलुकको आवश्यकतालाई पूरा गर्न सकोस् । माथि उल्लेखित अभिभावकको अनुभूतिलाई सम्बोधन गर्दै उनीहरूको चाहानाभित्र लुकेको उद्देश्यलाई पूरा गर्न सक्ने शिक्षा लागू गरोस् । विदेश निर्यात हुने शैक्षिक जनशक्ति उत्पादन गर्न बन्द गरोस् ।