• २०८१ असोज ४ गते शुक्रवार

सर्वप्रथम एसएलसी (कक्षा १२) -२०८१ मा सफल भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई र जो विद्यार्थीहरु ग्रेड वृद्धि परीक्षामा सामेल हुँदै हुनुहुन्छ उहाँहरुलाई अग्रिम शुभकामना । विद्यालय तहको परीक्षा स्कुल लिभिङ सर्टिफिकेटको परीक्षा सकेर विद्यार्थीहरूले अहिले आफ्नो लागि उच्च शिक्षा तथा विश्वविद्यालय शिक्षाका लागि तयारी गरिरहेको अवस्था छ। विद्यार्थीहरुलाई विद्यालय तहमा एउटै संरचनाभित्र एउटै स्ट्रिममा अध्ययन अध्यापन भइरहेको अवस्थामा अब विश्वविद्यालय तहमा विद्यार्थीहरूले आफ्नो मनपर्ने बिधा तथा विषयवस्तु छनोट गरी अबको उच्च शिक्षालाई अगाडि बढाउनुपर्ने उनीहरूको आवश्यकता हो ।

यस अवस्थामा विद्यार्थीहरुलेआफ्नो रुचि क्षमता तथा दक्षताका साथसाथमा अन्य तत्वहरुलाई आधार बनाएर विषयवस्तुको छनोट गर्नुपर्ने हुन्छ। तसर्थ विश्वविद्यालय तहमा विशेषगरी धेरै संकायहरुमा विभिन्न साधारण शिक्षा तथा प्प्राविधिक शिक्षा छनोट गर्नुपर्ने हुन्छ। विशेषगरी विद्यार्थीहरूले नेपालको परिवेशमा अहिले मेडिकल तथा इन्जिनियरिङ बाहेक पाँचवटा स्ट्रिममा विद्यार्थीहरूको भर्ना रहेको देखिन्छ । ती हुन् शिक्षाशास्त्र संकाय मानविकी तथा सामाजिकशास्त्र संकाय व्यवस्थापन संकाय विज्ञान तथा प्रविधि संस्थान र कानुन संकाय । उल्लेखित संकायहरूमा फरक फरक विषय र फरकफरक विशेषताहरू रहेका हुन्छन् फरक संकायमा रहेका समान विषयहरूमा पनि तिनीहरूका विशेषता तथा आवश्यकता र उद्देश्यहरू फरक फरक रहेका हुन्छन्। जस्तै विज्ञान तथा प्रविधि संस्थानमा गणित विषय अध्ययन गर्नु र शिक्षाशास्त्र संकायमा गणित अध्ययन गर्नुमा विषयवस्तुको संरचना तथा विषयवस्तु छनोट एउटै भएतापनि ती दुई विषयका उद्देश्यहरू फरक हुन्छन्। यसको साथसाथै यी विषयहरूका आफ्ना आफ्ना क्षेत्रहरू पनि तय गरिएका हुन्छन्।

वेदान्त ज्योतिषले गणितलाई यसरी व्याख्या गरेको छ :

“यथा शिखा मयूराणां नागानां मणये यथा ।
तध्दवेदाङ्ग शास्राणां गणितं मूर्धनि स्थितम् ।।”

यसको अर्थ हुन्छः मयूरको शिख, नागको मणि जस्तै गणित बेदहरूमध्ये सवैभन्दा माथि छ ।

अब म यहाँहरुलाई शिक्षाशास्त्र संकायमा गणित विषय शिक्षण किन गरिन्छ र शिक्षाशास्त्र संकायमा गणित विषयलाई मूल विषयको रुपमा छनौट गरीअध्ययन गर्दा हुने फाइदाहरूको बारेमा यहाँहरू समक्ष केही कुरा राख्न गइरहेको छु।

गणित शिक्षा गणितको प्रयोगात्मक क्षेत्र

गणित विषय एउटा सबै विषयसँग एकीकृत भएर रहेको विषय हो। जस्तै गणितका विषयवस्तु भित्र घरयासी गणितका साथमा तथ्याङ्क शास्त्र तथा अन्य विभिन्न शुद्ध गणितका विषयवस्तुहरू समावेश गरिएका हुन्छन् जसले विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरुलाई गणितीय रुपमा समाधान गर्न र अन्य विषयहरुसँग गणितलाई कसरी समिश्रण गरेर सिक्न सकिन्छ भन्ने कुराको ज्ञान दिन्छ। त्यसैगरी गणितका विषयवस्तुले अन्य विषयहरू जस्तै अर्थशास्त्र जनसङ्ख्या ग्रामीण विकास तथा व्यवस्थापनमा स्नातकोत्तर तहका लागि पनि आवश्यक गणितीय ज्ञान र सीपको लागि ढोका खोल्ने काम गर्दछ।

अर्को तर्फ अहिलेको वर्तमान परिवेशमा अनुसन्धान तथा खोजबाट नयाँ ज्ञानहरूको विस्तार गर्नु र पुराना तथ्यहरू अथवा ज्ञानहरुलाई तथ्याङ्क शास्त्रीय माध्यमबाट स्थापित गराउनुलाई उच्च शिक्षाका मुख्य विषयवस्तुका रुपमा रहेको पाइन्छ । शिक्षण सिकाइको अलावा गणितले विभिन्न प्रकारका तथ्याङ्कहरुलाई कसरी व्यवस्थापन गर्ने, कसरी तालकीकरण गर्ने, कसरी संगठित गर्ने तथा कुन विधि तथा तथ्याङ्क शास्त्रीय साधन प्रयोग गरेर विश्लेषण गर्ने भन्ने बारेमा जान्नु अति आवश्यक छ। यसका लागि गणितीय ज्ञान आधारभूत रुपमा रहेको पाइन्छ । स्नातक तहमा गणित शिक्षा अध्ययन गर्दा गणनात्मक अनुसन्धानमा तथ्याङ्कहरूलाई कुन उपयुक्त विधि तथा तथ्याङ्क शास्त्रीय मापन प्रयोग गरेर विश्लेषण गर्ने भन्ने कुराको समेत जानकारी पाइन्छ। जसले अहिलेको प्रविधियुक्त समाजलाई आवश्यक पर्ने जनशक्तिको परिपूर्ति गर्नको लागि महत्वपूर्ण भूमिका खेल्दछ।

विद्यालय तहमा गणितको स्थान

हाम्रो विद्यालय तहमा कक्षा १ देखि १२ सम्म अनिवार्य रुपमा रहेको एउटा विषय गणित पनि हो। गणितलाई कक्षा १ देखि ८ सम्म अनिवार्य गणितको रुपमा मात्र र कक्षा ९ देखि १२ सम्म अनिवार्य गणितको साथसाथमा ऐच्छिक गणितको रुपमा पनि अध्यापन हुँदै आएको छ। देशमा विद्यमान गणित शिक्षकहरूको अभावलाई पूरा गर्न र गणितका शिक्षकहरू लाई दक्ष एवं प्रविधियुक्त शिक्षक निर्माण गर्न अहिलेको आवश्यकता हो। तसर्थ स्नातक तहमा गणित विषय अध्ययन गर्नाले विद्यालय तहमा आवश्यक गणित शिक्षकको लागि सुनिश्चित रहेको छ।

गणित एक तार्किक विषय

गणितले विद्यार्थीहरूमा हिसाब गर्ने तथा समस्या समाधान गर्ने तरिकाहरूको मात्र मात्र विकास गराउँदैन। यसले विभिन्न प्रकारका समस्या समाधान गर्नको लागि आवश्यक तर्क तथा फरक प्रकारका विधिहरूको पनि वकालत गर्दछ। गणितले विद्यार्थीहरुलाई राम्रो तरिकाले तर्क गर्न र तार्किक तरिकाले कुनै पनि समस्या समाधानको विधिलाई विश्लेषण गर्न सक्ने क्षमताको विकास गर्न सहयोग गर्दछ। तसर्थ गणितलाई तर्कहरूको विज्ञान पनि भनिन्छ। गणित शिक्षा विषयमा समावेश भएका सिम्बोलिक लजिक का विषयवस्तुहरूले विभिन्न समस्याहरूलाई तार्किक ढङ्गले कसरी हेर्न सकिन्छ र कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको जानकारी र सीप विद्यार्थीहरुलाई उपलब्ध गराउँछ। त्यस्तैगरी गणित विषयमा समावेश भएका सम्भाव्यता सम्बन्धी पाठ्यंशहरूले विद्यार्थीहरूमा कुनै पनि घटना तथा अवस्थाहरूमा त्यसको अनुमान गरी विद्यार्थीहरूले त्यसलाई कार्यान्वयन गर्ने सीपको विकास गराउन मद्दत गर्दछ। साथसाथै आफूले गरेको अनुमानलाई विभिन्न प्रकारका परिकल्पनाहरूको प्रयोग गरी परिकल्पनाहरू परीक्षण गरेर तिनीहरूको नतिजालाई व्यवहारिक समस्या समाधानमा प्रयोग गर्न अभिप्रेरित गर्दछ।

गणितमा भएका शुद्ध गणितीय विषयवस्तुहरू

गणित शिक्षामा फरक फरक प्रकारका शुद्ध गणितका विषयवस्तुहरू पनि समावेश गरिएका छन्। जस्तै क्याल्कुलस, ज्योमेट्री, एनालाइसिस, अल्जेब्रा, लिनियर अल्जेब्रा तथा एडभान्स क्यालकुलस यिनीहरुले गणितीय विषयवस्तुको गम्भीरता गहनता एवं संरचनागत ज्ञानको रूपमा विद्यार्थीहरूलाई जानकारी दिलाउँदछ।

यसको साथमा विद्यार्थीहरुले उल्लेखित विषयवस्तुहरूको अध्ययनले उच्च शिक्षाको लागि विशेष आधार शुद्ध गणितका विषयवस्तुहरूलाई दैनिक जीवनका विभिन्न पाटोहरूमा प्रयोग गर्न अभिप्रेरित गर्दछ।

गणित शिक्षणका विधिहरूका बारेमा अध्ययन

गणितका विषयवस्तु जानेर मात्र विद्यार्थीहरुलाई सिकाउन सकिँदैन । यसका लागि विद्यार्थीहरूको मनोविज्ञान तथा रुचि क्षमतालाई बुझ्नु अति आवश्यक हुन्छ। शिक्षाशास्त्र संकायमा गणित अध्ययन गर्नाले विद्यार्थीहरूमा कुनै पनि सिकारुको मनोविज्ञान रुचि क्षमता तथा आवश्यकताको पहिचान गरी कसरी शिक्षण गर्ने भन्ने बारेमा जानकारी गराउँछ यसका साथसाथै विद्यार्थीहरुमा भएका कमी कमजोरीहरु तथा विद्यार्थीहरूमा रहेका अन्तर्निहित क्षमताहरूको पहिचान गरी कसरी शिक्षण भन्ने विषयमा पनि सिकारुहरूलाई स्पष्ट जानकारी गराउने काम गणेश शिक्षण विषयले गर्दछ। यसको अलावा विद्यालय पाठ्यक्रम निर्माण पाठ्यपुस्तक निर्माण तथा मूल्याङ्कन कसरी गर्ने भन्ने कुराको निर्कुल गर्नको लागि नीति निर्माण तथा सामग्री निर्माणमा गणित शिक्षाबाट दीक्षित जनशक्तिले मात्र पूरा गर्न सक्दछ ।

नीति निर्माणमा गणितको आवश्यकता

अहिले शिक्षा अन्तर्गतका विभिन्न निकायहरूमा नीति निर्माण गर्नको लागि जति जना नीति निर्माताहरू छन् तिनीहरु सबै शिक्षाशास्त्रका उत्पादन रहेका छन्। जसले गर्दा शिक्षालाई जीवनसँग जोड्ने जीवनलाई पेशासँग जोड्ने र पेशालाई शिक्षासँग जोड्ने गरी नीति निर्माणहरू भइरहेका छन्। शिक्षाशास्त्र अध्ययन गर्नाले त्यसको शिक्षाको अवस्था तथा आवश्यकताहरू पहिचान गरी देशको माटो सुहाउँदो शिक्षण तथा शिक्षा कसरी निर्माण गर्न सकिन्छ भन्ने कुराको निर्कयोल गरी नयाँ तरिकाले देशलाई आवश्यक जनशक्ति विकास गर्नका लागि सहयोग पुग्ने जनशक्ति विकासका लागि उपयुक्त पाठ्यक्रमको निर्माण गर्नुपर्दछ जुन काम शिक्षाशास्त्रमा अध्ययन गरेको नीति निर्माणकर्ता कर्ताले मात्र सम्भव रहन्छ ।

विद्यालय तहका विभिन्न विषयहरूका पाठ्यक्रमहरू तथा अन्य पाठ्य सामग्रीहरूको निर्माण एवं लेखनमा पनि शिक्षाशास्त्र संकायबाट अध्ययन गरेका शिक्षकहरूले तथा विज्ञहरुले नै बढी स्थान पाउने गरेको पाइन्छ। किनभने उक्त तहमा अध्ययन गर्दा विभिन्न प्रकारका बालबालिकाका बारेमा तथा तिनीहरूको उमेर रुचि र क्षमता र मनोविज्ञानको बारेमा पनि राम्ररी अध्ययन गर्न पाइन्छ । यसका साथसाथै पाठ्यक्रम कसरी बनाउने कुन मोडेलका आधारमा कार्यक्रम निर्माण गर्ने पाठ्यक्रमले कस्ता कस्ता विषयलाई समेट्ने र पाठ्यक्रम कति गहिराईसम्म बनाउने भन्ने कुराको निर्कयोल गर्नको लागि बालबालिकाको मनोविज्ञान बुझ्नु अति आवश्यक छ जुन कुरा शिक्षाशास्त्रको अध्ययनले मात्र प्राप्त गर्न सकिन्छ ।

लोकसेवा आयोगको प्रतिश्पर्धाकालागि आधार स्तम्भ

शिक्षाशास्त्र विषय यस्तो विषय हो जसले विभिन्न लोकसेवा आयोगहरुले लिने परीक्षाहरु प्राधिकरणहरूका परीक्षाहरु तथा शिक्षक सेवा आयोगले लिने सम्पूर्ण परीक्षाहरूमा समावेश हुन पाइन्छ अन्य विषय पढ्नेहरूका लागि भन्दा शिक्षाशास्त्र पढ्नेका लागि बढी अवसरहरू रहेका छन्। जस्तै शिक्षक सेवा आयोग र लोकसेवा आयोगको शिक्षा सेवामा परीक्षा दिनका लागि शिक्षाशास्त्र संकायबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ। एकातिर गणित अध्ययनले विश्व बजारमा गणित शिक्षणको लागि बलियो आधार तथा अवसरहरूको सुनिश्चितता गर्दछ भने अर्कोतर्फ विभिन्न प्राविधिक विषयहरू जस्तै सूचना तथा सञ्चार लगायतका कम्प्युटरका एप्लिकेसनहरु अध्ययन गर्नको लागि गणित महत्वपूर्ण रहेको छ। साथमा विभिन्न प्रकारका प्रतिस्पर्धात्मक क्षेत्रहरूमा गणितीय तथा तार्किक सीपहरूको परीक्षण पनि एउटा अभिन्न अङ्गको रुपमा रहेको छ। यदि हामीले स्नातक तहमा गणित शिक्षा विषयलाई प्रमुख विषयका रुपमा छनौट गर्यौ भने उपर्युक्त विषयवस्तु तथा विधाहरू लाई आफ्नो प्रमुख व्यवसाय तथा पेशाको रूपमा अङ्गीकार गर्नको लागि पनि महत्वपूर्ण आधार तयार हुन्छ । अहिलेको विश्व परिवेश भनेको विभिन्न किसिमका सूचना तथा प्रविधिका स्रोतहरूलाई कक्षा सही ढंगले कसरी प्रयोग गर्ने तथा तिनीहरूको निर्माण र व्यवस्थापन गर्ने मूल आधारहरूको बारेमा जानकारी लिनु र महत्वपूर्ण छ। यसर्थ गणित विषय यस्तो विषय हो जसका विभिन्न अल्गोरिदमहरू सूचना तथा सञ्चार प्रविधिमा प्रयोग तथा उपयोगको बारेमा जानकारी दिन्छ। गणितीय विषयवस्तुको बारेमा आधारभूत ज्ञान भएका विद्यार्थीहरूले मात्र त्यस्ता खालका सिपहरूमा आफूलाई योग्य एवं सक्षम साबित गर्न सक्दछन् ।

अर्को कुरा कुनै पनि पाठ्यक्रम कार्यक्रम तथा योजनाको सफल कार्यान्वयन भयो अथवा भएन जानकारी लिनको लागि मूल्याङ्कन गर्नुपर्दछ। मूल्याङ्कन गर्दा विभिन्न प्रकारका मूल्याङ्कनका साधनहरूको प्रयोग गरिन्छ। शिक्षाशास्त्र एउटा यस्तो विधा हो जसमा विभिन्न प्रकारका मूल्यांकनका साधनहरु ती साधनहरूको निर्माण तथा उपयुक्त स्थान र परिवेशमा कसरी प्रयोग गर्ने भन्ने बारेमा समेत अध्ययन अध्यापन गरिन्छ । तसर्थ यदि विद्यार्थीले स्नातक तहमा शिक्षाशास्त्र अन्तर्गतका विषयहरू अध्ययन गरेको खण्डमा विभिन्न प्रकारका मूल्याङ्कनका साधनहरू जस्तै अवलोकन फारम विषयगत प्रश्नहरु वस्तुगत प्रश्नहरु लगायत विभिन्न प्रकारका मापनका साधनहरु निर्माण गर्न सक्दछ । यसका साथै उक्त साधनमा समावेश गर्ने प्रश्नहरूको कठिनाइ स्तर तथा उपयुक्तता र वस्तुनिष्ठताका साथै वैधताको बारेमा पनि जानकारी भरपुर मात्रामा पाइन्छ। र शिक्षाशास्त्र अन्तर्गतको गणित शिक्षा अध्ययन पश्चात् विद्यार्थी एउटा योग्य दक्ष प्रश्नपत्र निर्माता को साथसाथै मूल्याङ्कन तथा नियमन को विज्ञको रुपमा पनि काम गर्न सक्षम हुन्छ ।

यसरी माथि उल्लेख भएका विषयवस्तुहरू केवल उदाहरणका लागि मात्र हुन्। गणित शिक्षा अध्ययन गरेर माथिका विषयवस्तु तथा सीपहरूको साथसाथै धेरै प्रकारका दक्षता एवं सीपहरूको विकासमा विद्यार्थीहरुलाई प्रोत्साहन सहित मार्गदर्शन गर्दछ। फलस्वरूप विद्यार्थीले आफूलाई एउटा योग्य र सफल योजनाका नेतृत्वकर्ता तथा शिक्षक प्रशिक्षक र मूल्यांकनकर्ताको रुपमा विकास गर्न सक्दछ। साथै त्यसभन्दामाथिका उच्च शिक्षाका अन्य विषयहरू अध्ययनका लागि पनि गणित विषयले मार्ग प्रशस्त गर्दछ । एक त नेपालको वर्तमान परिवेशमा विद्यालय तथा विश्वविद्यालय तहमा शिक्षक प्रशिक्षकहरूको कमी हुँदै जानुले गणित विषयको महत्व अझ बढी हुँदै गएको देखिन्छ भने अर्कोतर्फ गणित विषय अध्ययन गरेको विद्यार्थीले अन्य विषय तथा विधाहरूमा पनि ढोका खुल्लै रहने भएकोले अन्य विधाहरूलाई आफ्नो गन्तव्यका रूपमा उपयोग गर्नको लागि पनि गणित विषय अति नै प्रभावकारी एवं सहयोगी साबित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *