बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी, विधान संशोधनको गृहकार्य सुरु
२०८२ फागुन २९ शुक्रवार १३:२७
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनसम्बन्धी आफ्नो पार्टी विधान संशोधन गर्ने तयारी गरेको छ । हालको विधानमा संसदीय दलको नेता चयन गर्दा पार्टीका सबै साधारण सदस्यले मतदान गर्न पाउने व्यवस्था रहे पनि त्यसलाई अव्यवहारिक ठहर गर्दै परिवर्तन गर्न लागिएको हो ।
पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले संसदीय दलको नेता चयन प्रक्रिया सहज र व्यवहारिक बनाउन विधानमा आवश्यक संशोधन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार हालको व्यवस्थाअनुसार सम्पूर्ण सदस्यबाट मतदान गराएर नेता चयन गर्न कठिन भएकाले नयाँ विधि तय गर्ने छलफल भइरहेको छ ।
रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रूपमा वरिष्ठ नेता बालेन्द्र शाह लाई बनाउने तयारी गरेको बताइएको छ । पार्टीको विधानअनुसार सरकार गठन भएमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने व्यवस्था छ ।
यसअघि पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच भएको सहमतिअनुसार प्रतिनिधिसभा निर्वाचनपछि शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने समझदारी भएको थियो ।
निर्वाचन परिणामअनुसार रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट उल्लेख्य सिट प्राप्त गरेको छ । समानुपातिकतर्फ पार्टीले ५७ सिट पाएको छ भने तीमध्ये ४८ जना महिला चयन गर्नुपर्ने प्रावधान रहेको छ । समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको टुंगो लागेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ ।























